काठमाडौं, बैशाख १९ । यही बैशाख १० गते पत्रकार तथा समाजसेवी बारबरा एडम्सको निधन भयो । तत्कालिन राजा महेन्द्रका कान्छा भाई बसुन्धरा अर्थात ‘कान्छा सरकार’ सँग लगनगाँठो कसेकी बारबाराको जीवन सुखमय रहन सकेन् ।
बेलायती महारानी एलिजावेथ द्वितीयाको नेपालमा सम्पन्न राजकीय भ्रमणको सिलसिलामा उनी सन् १९६० मा पहिलो पटक नेपाल आएकी थिइन । बसुन्धरासँग लामो समयको प्रेम सम्बन्ध पछि विवाह गरेकी उनको जीवन श्रीमानको देहान्तपछि दरबार हुँदै छाप्रोसम्म पुग्यो ।
सन् १९७८ मा बसुन्धराको निधन भएपछि बारबारा एक्लो भइन् । अमेरिकामा जन्मिएकी उनी राजश्री जीवनबाट छाप्रोसम्म पुग्दा बसुन्धराले दिएका उपहारहरु समेत बेच्नु परेको थियो ।
इमेज च्यानलको ‘इमेज संवाद’कार्यक्रममा १० बर्ष अघि उनले आफ्नो जीवन कहानी सुनाएकी थिइन् । कान्छा सरकारसँगको प्रेम सम्बन्ध, उनको निधन पछिको दुःखपूर्ण जीवनका कथाहरु बारबराले सुनाएकी छिन् ।
नेपाल आएपछि उनी मृत्युपर्यन्त नेपालमै रहँदै आएकी थिइन् । नेपालमा व्यावसायिक पर्यटनको सुरुआत तथा प्रवद्र्धन गर्न एडम्सको अमूल्य योगदान रहेको छ । नेपाली समाजका विविध विधामा उनले स्वतन्त्र कलम चलाउँदै आएकी थिइन् ।
उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन् । उनी पछिल्ला वर्षमा नेपालको सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाका भूमिहीन र सुकुम्बासीका लागि घर बनाउने अभियानमा सक्रिय थिइन् ।
उनी खोजी पत्रकारिताको संस्थागत विकास होस् भन्ने उद्देश्यले त्रिवि, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ स्थापना गरेकी थिइन् । सक्रिय समाजसेवीका रुपमा दरिएकी बारबराको निधनपछि पुरानो अन्तरबार्ताले धेरैको कौतुहलता मेटाइदिन सक्छ ।
इमेज खबर बाट सभार
0 comments