ह्यारीलाई मंगलीले भनिन,‘सय वर्ष बाँच्नु, हामीलाई नबिर्सनु’ (फोटोसहित)

2:38 AM



भिरकुना (लमजुङ): पाँचदिने भ्रमणका लागि नेपाल आएका बेलायती राजकुमार ह्यारी आफ्नै घरमा बास बस्न आउने भनेपछि पूर्वी लमजुङको गौंडा–७, लेउरानीकी मंगली तामाङ निकै खुशी थिइन् । राजकुमारको स्वागतका लागि उनले स्थानीय परिकार ठीक्क पारेर राखिन् ।

सोमबार भीरकुनाबाट एक घण्टाको पैदलयात्रा गरेर लेउरानी पुगेका राजकुमारलाई उनको कोसेली थियो, स्थानीय कुखुराको मासु, गुन्द्रक र ढिंडो । ‘मैले नेपालको राष्ट्रिय खाना यही हो भनेर दिएँ’, उनले अन्नपूर्णसँग भनिन, ‘राजकुमारले खुशी मान्दै खाए ।’
अपाङ्ग छोरा क्षेत्रबहादुर तामाङसँग बस्दै आएकी मंगलीलाई आफ्नो शेषपछि उसको चिन्ताले निकै पिरोलीरहेको थियो । त्यही चिन्ता राजकुमार ह्यारीसँग पोखिन उनले ।



‘मेरो शेषपछि उसलाई जिऊन गाह्रो हुन्छ, केही मिलाई दिन प¥यो ‘सा’ब’ भनेर आग्रह गरेँ, उनले भनिन, सा’बले सहयोग गर्छु भन्नुभएको छ ।’ उनले राजकुमारसँग घर पुरानो भएकाले नयाँ घर बनाइदिन आग्रह गरेको बताइन् ।

आफ्नो घरमा राजकुमार बस्दा ‘भगवान’ नै आए जस्तो लागेछ उनलाई । ‘मेरो घरमा त भगवानले बास गरजस्तो भयो, उनले भनिन, ‘ निक्कै खुशी लागेको छ ।’
लेउरानीबाट गौंडा–१, ओखारी स्थित गोर्खा वयलफेयर स्किमको सहयोगमा निर्माण भईरहेको १० कोठे गौंडा माध्यामिक विद्यालय भवनको अवलोकन, विद्यार्थीसँग भलिबल र होली खेल्न जान लागेका राजकुमार ह्यारीलाई उनले आर्शिवाद दिंदै बिदाई गरिन् ।





सेतो टिका, खदा र तामाङ टोपी लगाउँदै उनले आर्शिबाद दिइन्, ‘डाँडाकाँडा सबै घुमेस । सय वर्ष बाँचेस बाबु । हामीलाई नबिर्सनु ।’ बिहानको ब्रेकफास्टसँगै राजदुत ह्यारी पैदलयात्राबाटै गौंडा–१, ओखारी आइपुगेका छन् ।

You Might Also Like

0 comments